भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र आगामी रणनीतिबारे छलफल गर्न बागमती प्रदेशमा सर्वदलीय बैठक बसेको छ। मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाउने निर्णय गरेको हो।
बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तथा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू सहभागी थिए। नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया भने ह्वाट्सएपमार्फत बैठकमा जोडिएर सुझाव दिएका थिए।
बैठकले बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा राहत, उद्धार तथा प्रभावित नागरिकका लागि आवास व्यवस्थापनको काम अवरोधरहित रूपमा निरन्तर अघि बढाउने निर्णय गरेको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकारलाई थप सक्रिय हुन सुझावसमेत दिइएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध सडक र पैदलमार्गलाई शीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले काम गरिरहेको बैठकमा जानकारी गराइएको थियो। आवतजावत सहज बनाउन आवश्यक स्थान पहिचान गरी बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले तत्कालीन राहत र उद्धारमा मात्र सीमित नभई बाढी प्रभावित क्षेत्रको दिगो विकास तथा पुनर्निर्माणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
बैठकमा भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल तथा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रमेशकुमार महत सहभागी थिए।








