नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा यूएईले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनायो ।
यूएईले दियो नेपाललाई १ सय ४१ रनको लक्ष्य
मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुआत राम्रो थिएन । सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्यु’ गरिहेका खालिद शाहलाई शुन्यमा आउट गराए । अलिशन सराफु पनि ६ रन बनाई करण केसीको बलमा आउट भएपछि यूएईको संकट चुलिएको थियो ।
कप्तान मोहम्मद वासिमलाई गुल्शन झाले आउट गरे । वासिमले १८ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १७ रन बनाए । गुल्शनले आसिफ खानलाई आउट गरी नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए । आसिफले १२ बल खेली २ चौका प्रहार गर्दै १५ रन बनाए ।
अलि नासिर र बसिल हमिदले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे । नासिरले ३० बल खेली ३ चौका र १ छक्कासहित ३२ रन बनाए । उनी करणको दोस्रो शिकार बनाए । हमिदले ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा कुल ३८ बल खेली १ चौका र ४ छक्का प्रहार गरि ५१ रन बनाए ।
नेपालबाट करणले ३ विकेट लिए । उनले ४ ओभरमा १९ रनमात्र खर्चे । गुल्शनले ३ ओभरमा ११ रन खर्चेर २ र सोमपाल कामीले १ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिनेक्रममा ४ ओभरमा ३८ रन खर्चे ।
नेपालले श्याम (मौसम) ढकाललाई ‘डेब्यु’ गराएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने नेपालका ४४ औ खेलाडी बनेका उनले २ ओभरमा १४ रन खर्चेका थिए । तीनदेशीय प्रतियोगिताको अर्को टोली हङकङ रहेको छ ।








