हेटौडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो निरङ्कुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती–कमजोरी गर्दा त्यो गल्ती–कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो । उनीहरूमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यस कारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा, यो गणतन्त्रमा संविधान भन्दामाथि, कानुन भन्दामाथि, निगरानी भन्दामाथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’
सञ्चारमन्त्रीले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन नहुने बताउनुभयो ।








