हेटौँडा/ मकवानपुरमा रहेका एम्बुलेन्स चालकहरूलाई जलेको घाउको प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सञ्चालन गरिएको छ।
रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना र कीर्तिपुर अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा उक्त तालिम गरिएको हो।
तालिममा किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर हेमन्त ध्वज जोशीले जलेको घाउको समस्या हुँदा धेरै महँगो उपचार, लामो समय अस्पताल बस्नुपर्ने, ज्यान जाने वा अङ्गभङ्ग हुने जस्ता गम्भीर समस्या निम्तिने बताउनुभयो।
प्रत्येक वर्ष जलेको घाउका बिरामी बढ्दै गएको र नेपालमा वार्षिक ५६ हजार बिरामी रहेको र २२०० को मृत्यु हुने गरेको पनि उहाँले जानकारी दिनुभयो। त्यसैले जलेको घाउको प्राथमिक उपचार ज्ञान आवश्यक रहेको बताइयो।
तालिममा १५ जना एम्बुलेन्स चालकको सहभागिता रहेको थियो। तालिमदाताहरूले जलेको घाउको रोकथाम, प्राथमिक उपचार र बचावका उपायबारे जानकारी दिएका थिए।
जलेको घाउले गम्भीर समस्या निम्त्याउने भएकाले त्यसको प्राथमिक उपचारबारे जानकारी आवश्यक रहेको तालिमकर्ताहरूले बताएका छन्।
रोट्र्याक्ट क्लब मकवानपुरका अध्यक्ष राजन कटुवालको सभाअध्यक्षतामा भएको कार्यक्रममा किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर हेमन्त ध्वज जोशी, नेशनल फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका सचिब मनोज ढोडारी, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष पवन तिमल्सिना, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी हेटौंडाका अध्यक्ष जनार्दन नेपाल, रोट्र्याक्ट क्लब मकवानपुरका निवर्तमान अध्यक्ष प्रदिप कुमार राई लगायतको उपस्थिति रहेको थियो ।








