हेटौंडामा बेवारिसे अवस्थामा फेला परेको एक शिशुलाई वैकल्पिक अभिभावकको रूपमा पर्सा जिल्लाको ठोरी गाउँपालिकाका निःसन्तान दम्पत्तिले अभिभावकत्व प्राप्त गरेका छन्।
गत कार्तिक ३० गतेदेखि हेटौँडा उपमहानगरपालिकाको हेरचाहमा रहेको उक्त शिशुलाई उपमहानगरपालिकाले फागुन १४ गते उक्त दम्पत्तिलाई हस्तान्तरण गरेको हो। उपमहानगरपालिकाले ३५ दिने सूचना जारी गरी शिशुको अभिभावकत्व लिन चाहने व्यक्तिहरूबाट निवेदन मागेको थियो।
६ जना दम्पत्ति र एक एकल महिलाले निवेदन दिएकोमा उपमहानगरपालिकाले जाँचबुझपछि निःसन्तान ठोरी दम्पत्तिलाई शिशुको अभिभावकत्व प्रदान गरेको हो। उपमहानगरपालिकाले यसअघि नै “बालअधिकार संरक्षण तथा सम्वर्धन कार्यविधि-२०८०” निर्माण गरी शिशुको अभिभावकत्व लिने सम्बन्धमा स्पष्ट मापदण्ड तोकेको थियो।
सो कार्यविधिले शिशुका अधिकार संरक्षण गर्न अभिभावक व्यक्तिले पूरा गर्नुपर्ने शर्तहरू समेत निर्धारण गरेको छ। उपमहानगरपालिकाले उक्त दम्पत्ति निःसन्तान र भविष्यमा पनि सन्तान प्राप्त गर्ने अवस्था नदेखिएको, साथै सामाजिक र आर्थिक रूपमा समेत सक्षम देखिएकाले शिशुको अभिभावकत्व प्रदान गरेको हो। शिशु करिब ४ महिनाअघि बरामद भएको थियो।








