हेटौंडा/प्रहरीले लागुऔषध गाँजा र चरेसजस्तो पदार्थ बरामद गरी २ जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीमा गस्तीको क्रममा भारतीय नम्बरको कारबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ। गाँजासहित कार चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साविर अन्सारीलाई नियन्त्रणमा लिइएको छ।
यसैगरी, भिमफेदी गाउँपालिका-२ भैसे चेकपोस्टमा गरिएको चेकजाँचका क्रममा बागमती प्रदेश ०२-०२० प ८८३३ नम्बरको मोटरसाइकलबाट १५ किलो १२० ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद भएको छ।
प्रहरीले मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई नियन्त्रणमा लिएको छ। दुवै घटनामा संलग्नलाई थप अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।








