हेटौंडा/आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको हेटौंडा शाखा कार्यालयले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ। आज (विहिवार) सम्पन्न भएको यस गोष्ठीमा वित्तीय अनुशासन, लघुवित्त कर्जा र बचत, कर्जा सदुपयोगिता, व्यापार विस्तार लगायतका विषयमा छलफल भएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले प्रमुख अतिथिको रुपमा गोष्ठीको उद्घाटन गर्नुभएको थियो। उहाँले घरेलु उत्पादन न्युन रहेको बताउँदै उत्पादन क्षमता बढाएर युवालाई देशभित्रै स्वरोजगार बनाउन पहल गर्नुपर्ने बताउनुभयो।
उहाले लघुवित्तीय संस्थाले ऋण र लगानी गर्नुमात्र नभई स्थानीय सरकारसँग पनि जोडिनुपर्ने बताइएको छ। त्यसो गरेमा मात्र राम्रो नतिजा आउने उनीहरुको धारणा थियो। संख्यामात्रै होइन, काममा जोड दिनुपर्ने बताइएको छ।
लघुवित्तले गरेको लगानीको तुलनामा उत्पादन र बजारीकरण सन्तोषजनक नरहेको बताउँदै उहाँले लघुवित्तहरुले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै लघुवित्तले ऋण लगानी मात्रै नभएर त्यसको सदुपयोग बारे मूल्याङ्कन गर्न आवश्यक रहेको कुरा पनि उल्लेख गर्नुभयो।
आशा लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालयका अनुगमन प्रमुख उत्तम कुमार कार्कीले लघुवित्त वा अन्य वित्तीय संस्थाहरुबाट व्यक्तिकै पैसाले ऋण दिइने भएकाले ऋण लिएपछि तिर्नुपर्ने कुरा स्पष्ट रुपमा बुझ्नुपर्ने कुरामा जोड दिनुभयो। साथै लिएको ऋण मिनाहा हुन्छ भन्ने भ्रमात्मक कुरामा नलाग्न उहाँले आग्रह गर्नुभयो।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको हेटौंडा शाखामा हाल एक हजार तीन सय सत्तरी जना सदस्यहरु आवद्ध रहेका छन्। यस संस्थामा एक सय सोह्र वटा केन्द्र संस्थाहरु रहेका छन्। संस्थाले सोह्र करोड सत्तरी लाख तीन हजार आठ सय उनन्साठी रुपैयाँ कर्जा लगानी गरेको छ भने पाँच करोड सत्तरी लाख चौरासी हजार छ सय पचास रुपैयाँ बचत संकलन गरेको छ।
कार्यक्रममा सभाध्यक्ष कमला श्रेष्ठ र जिल्ला प्रमुख नवराज घिमिरेले समेत आफ्ना धारणा राख्नुभएको थियो। भने कार्यक्रमको संचालन लक्ष्मी बर्तौलाले गर्नुभएको थियो।







