हेटौंडा/ राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १ सय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ। आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको छ।
आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरी ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ। यस्तै, बागमतीका ३५ र बकैयाका ९ गरी ४४ जना भूमिहिन सुकुम्बासीलाई पनि पूर्जा वितरण गरिएको छ।
त्यसैगरी, हेटौंडा उपमहानगरपालिकाका ६९ र बागमती गाउँपालिकाका ५ गरी ७४ जना अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी पूर्जा प्रदान गरिएको आयोगले जनाएको छ।
आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहहरूले ३४० जना भूमिहिन दलित, २ हजार २ सय ६० जना भूमिहिन सुकुम्बासी, १४ हजार ६ सय ५० जना अव्यवस्थित बसोबासी र २ जना सट्टाभर्नाका लागि गरी १७ हजार २ सय ५२ जनाको निवेदन दर्ता गरेको जानकारी दिइएको छ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क रुपमा र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयअनुसार राजश्व दाखिला गराएर जग्गाधनी पूर्जा वितरण गरिँदै आएको छ। जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ जना भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ।
यसैगरी, हेटौंडाको वडा नम्बर ११, ९ र ७ का ८ सय भन्दा बढी, बागमतीको वडा नम्बर १, २ र ६ का १ सय ४० भन्दा बढीलाई पूर्जा वितरणको तयारी भइरहेको र बकैयामा नापनक्सा कार्य भइरहेको पनि जानकारी दिइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले प्रमुख आतिथ्य गर्नुभएको थियो भने भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।








