हेटौंडा/ हेटौंडा सामुदायिक आँखा अस्पतालले आँखामा लाग्ने जलविन्दु रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ। विश्व जलविन्दु सप्ताह अन्तर्गत शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूसँग रोगबारे छलफल गरिएको हो।
कार्यक्रममा अस्पतालका प्रमुख डा. सुनिल थकालीले जलविन्दु रोगको कारक तत्त्व, समयमै रोगको पहिचान उपाय र उपचारबारे प्रस्तुति गर्नुभएको थियो। उहाँका अनुसार अस्पतालमा दैनिक १० देखि १२ जना जलविन्दुका बिरामीहरू आउने गरेका छन्।
विश्वभरीको तथ्याङ्क हेर्दा दृष्टिविहिनता हुनुमा जलविन्दु चौथो प्रमुख कारण रहेको उल्लेख गर्दै उहाँले आँखामा हुने पानीको उत्पादन र निकासको असन्तुलनले जलविन्दु हुने बताउनुभयो। जलविन्दु भइसकेपछि सुरुवाती चरणमा कुनै लक्षण नदेखिने र आँखा बन्द भइसकेपछि मात्र रोग पत्ता लाग्ने हुँदा समय-समयमा आँखाको प्रेशर जाँच गराउनुपर्ने उहाँको सुझाव छ।
जलविन्दु वंशानुगत, उमेरजन्य, आँखाको हेरचाहमा लापरबाही लगायतका कारणले हुने गरेको डा. थकालीको भनाइ छ। नेपालमा सन् १९८१ मा गरिएको पहिलो सर्वेक्षणअनुसार त्यतिबेला जलविन्दु र मोतिविन्दुका कारण ०.८४ प्रतिशत मानिसहरू अन्धा थिए।