हेटौंडा/नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रवर्द्धनमा सञ्चारक्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। दलित महिला संघ (फेडो)को आयोजनामा सञ्चारकर्मी र दलित अधिकारकर्मीबीच अन्तरक्रिया भएको हो।
कार्यक्रममा दलित समुदायले भोग्नुपरेको विभेद र यसको अन्त्यका उपायहरुबारे छलफल गरिएको थियो। दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा दलित महिलाहरुले थप अवसर पाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रहरीसमक्ष पनि दलित विभेदका गुनासा दर्ता गराउनुपर्ने माग राख्नुभयो। प्रहरी निरीक्षक श्रीदाता राम अधिकारीले दलित समुदायलाई शिक्षित हुन प्रेरित गर्नुपर्ने बताए। शिक्षित भएमा किशोर/किशोरीहरु अधिकारका लागि लड्न सक्षम हुने उहाँको धारणा छ।

कार्यक्रममा दलित महिला उद्यमशीलता प्रवर्द्धन कोषबाट ५ वटा दलित महिला समूहहरुलाई २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका महिला समूहलाई ४२ हजार रुपैयाँका दरले उक्त रकम प्रदान गरिएको हो।

रकमबाट समूहका महिलाहरुले पसल व्यवसाय, बंगुर फार्म, बाख्रापालनलगायतका आयमूलक कामहरु गर्ने बताइएको छ। दलित महिला संघले यसरी रकम हस्तान्तरण गरेको यो पहिलो पटक हो।
उक्त कार्यक्रममा दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्ष भएको उक्त कार्यक्रममा उपाध्यक्ष सुनिता दर्नाल, प्रहरी निरीक्षक दातारामअधिकारी, पत्रकार महासंघका अध्यक्ष मणि गौतमलगायतको आफ्नो भनाइ राखेका थिए।








