हेटौंडा/मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका विभिन्न वडाहरूमा आँखा शिविरको कार्यक्रम सञ्चालन भइरहेको छ।
शनिबार वडा नं २ मा र आइतबार वडा नं ८ मा सम्पन्न आँखा शिविरमा गरी ४ सय ६४ जना स्थानीयवासीले सेवा लिएका छन्। वडा नं २ मा २ सय ३३ जना र वडा नं ८ मा २ सय ३१ जनाले उक्त शिविरबाट सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो।
शिविरमा परीक्षण गर्दा वडा नं २ का २४ जना र वडा नं ८ का १५ जना गरी कुल ३९ जनामा मोतिबिन्दुको समस्या देखिएको छ। उनीहरूलाई आगामी चैत ६ र ७ गते हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने दाहालले जानकारी दिनुभयो।
“आगामी दिनहरूमा गाउँपालिकाका अन्य वडाहरूमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ,” प्रमुख दाहालले भन्नुभयो। गाउँपालिका र सामुदायिक आँखा अस्पतालको संयुक्त पहलले स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन यस्ता शिविर महत्वपूर्ण भएको उहाँले बताउनुभयो।