हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका-१ खोप्लाङस्थित भैँसे-हेटौँडा सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा चालक च्यापिएका छन्।
रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना. ८ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो। घटनामा टिपर चालक हेटौँडा उपमहानगरपालिका-१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबा च्यापिएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार च्यापिएका चालकको उद्धारको प्रयास भइरहेको छ। उद्धारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट सैनिक टोली खटिएको छ।
दुर्घटनाको विस्तृत विवरण र चालकको अद्यावधिक अवस्थाबारे जानकारी प्राप्त भइनसकेको भन्दै प्रहरीले थप विवरण आउने बताएको छ। दुर्घटनाको कारण अनुसन्धानको विषय रहेको प्रहरी प्रवक्ता भण्डारीको भनाइ छ।








