हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका-१ खोप्लाङस्थित भैँसे-हेटौँडा सडकखण्डमा सोमबार बिहान टिपर दुर्घटना हुँदा च्यापिएका चालकलाई करिब ५ घण्टापछि जीवितै उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार च्यापिएका हेटौँडा उपमहानगरपालिका-१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको ज्यान जोगाउन सकिएको छ। उनको हालअहिले हेटौँडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
चालक वाइबाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना. ८ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।
उद्धारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली, नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट सेनाको टोली, नेपाली सेनाको हाइड्रा, प्राविधिक टोली र दुईवटा एक्साभेटर परिचालन गरिएको थियो।
दुर्घटनाको अझै अनुसन्धान भइरहेको जनाइएको छ।








