बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मकवानपुरको मनहरी गाउँपालिकामा रजैया-दरदरा मोटरेबल पुलको शिलान्यास गरेका छन्।
मनहरी गाउँपालिका वडा नम्बर ९ र ५ लाई जोड्ने यस पुलको शिलान्यास सोमबार सम्पन्न भएको हो। शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले विकास निर्माणका कामलाई उत्पादनसँग आवद्ध गर्दै प्रदेशको आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको रणनीति रहेको बताए।
“प्रदेश सरकारले विकास निर्माणका कामलाई कृषि, पर्यटन तथा उद्यमशीलतासँग जोडेर अघि बढाउने योजना छ,” उनले भने, “यसैगरी यस पुल निर्माणले पनि क्षेत्रको उत्पादनमा टेवा पुर्याउने छ।”
पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुने रजैया-दरदरा पुल निर्माणका लागि प्रदेश सरकारले २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। निर्माण कम्पनी बिटी-आरएस जेभीले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेछ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायतको उपस्थिति रहेको थियो।








