पूर्व-पश्चिम राजमार्गबाट मकवानपुरको मनहरी हुँदै राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर जाने सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
मनहरी बजारदेखि चैनपुरसम्म पुग्ने करिब ६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न धमाधम काम भइरहेको छ। गत वर्ष यसैगरी अघिल्लो कार्यकालमा ट्र्याक खोलिएको यस बाटो अहिले पुरै कालोपत्रे हुन लागेको हो।
तर, पहिलो चरणमा ५ किलोमिटर मात्र कालोपत्रे गर्ने गाउँपालिकाले जनाएको छ। करिब ३० वर्षअघिदेखि गोरेटोको रुपमा रहेको यस बाटोलाई ट्र्याकको स्तरमा विस्तार गरिएको थियो भने बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा उद्घाटन समेत गरिएको थियो।
“२०७६ सालको अन्तिममा ट्र्याक खोलिएको यो सडक अहिले कालोपत्रे हुने तयारी छ,” राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, “आउँदो जेठभित्रमा पिचगर्ने काम सम्पन्न हुनेछ।”
हेटौँडाको डिएस कन्स्ट्रक्सनलाई करिब १३ करोड रुपैयाँमा ठेक्का लागेको मल्लले बताए। यो सडक कालोपत्रे भएपछि वर्षायाममा दुःख गरेर पहिरो र झाडीबाट हिँड्नुपर्ने बाध्यता अन्त्य हुने उनले जानकारी दिए।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको बजेटमा कालोपत्रे गरिँदै गरेको यो राक्सिराङ गाउँपालिकाकै पहिलो कालोपत्रे सडक हुनेछ। यसले स्थानीयसँगै छिमेकी धादिङ र मकवानपुरका अन्य गाउँपालिकाका बासिन्दालाई समेत फाइदा पुग्नेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाका अनुसार पालिका विकट क्षेत्रमा रहेकाले सामाजिक विकासभन्दा भौतिक पूर्वाधार विकासको माग बढी रहेको छ। “हामी सबै क्षेत्रको विकासलाई समान महत्व दिँदै आएका छौं, तर भौगोलिक विकटताले गर्दा पनि भौतिक विकासकै माग बढी हुने गरेको छ,” उनले भने।
पालिकाबासीले छिमेकी चितवन जिल्लाको भण्डारा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेकाले पालिकाभित्रै आवश्यक सडक, बाटो र पुलपुलेसा बनाउनुपर्ने भएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै पालिकाले विभिन्न भौतिक पूर्वाधार विकासका काममा जोड दिएको बताइएको छ।
सडकलाई बलियो बनाउन पहिरो जोखिममा रहेका स्थानमा विभिन्न बिरुवा रोपण र आवश्यक ठाउँमा जाली समेत लगाइने छ।मकवानपुरको राक्सिराङ गाउँपालिकामा भौगोलिक विकटताका कारण भौतिक पूर्वाधार विकासकै बढी माग रहेको गाउँपालिकाले जनाएको।







