मकवानपुरको राक्सिराङ गाउँपालिकामा बाल विवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आयोजना गरिएको छ। मंगलबार वडा नम्बर ६ स्थित सिलिङ्गेमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बाल विवाह अन्त्यका लागि घर-परिवारबाटै प्रयास गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहहरूलाई बालमैत्री बनाएर बाल विवाह न्यूनीकरण गर्न सकिने बताउनुभयो। बालमैत्री स्थानीय तहमा बालबालिकाहरू विद्यालय नछोड्ने र बाल विवाह कम हुने उहाँको दाबी छ।
संविधानसभा सदस्य गोविन्दराम चेपाङले राक्सिराङमा घरदैलोमै गएर बालविवाहबारे सचेतना फैलाउनुपर्ने बताउनुभयो। उहाँले राक्सिराङमा बाल विवाहका घटनाहरू भए पनि बाहिर नआउने गरेको बताउनुभयो।
यसैगरी, राक्सिराङका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बाल विवाह अन्त्यका लागि सबैको योगदान आवश्यक रहेको बताउनुभयो। बाल विवाहका कारण विभिन्न समस्याहरू उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले गत आर्थिक वर्षमा राक्सिराङमा ७० बालबालिकामा कुपोषणको समस्या देखिएको जानकारी दिनुभयो।
कार्यक्रमको सहजीकरण बागमती प्रदेश मानव अधिकार समितिका सदस्य एवम् बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले गर्नुभएको थियो। उहाँले मुलुकी अपराध संहिता र संविधानमा बाल विवाहसम्बन्धी व्यवस्थाहरू बारेमा जानकारी गराउनुभयो। ज्ञवालीका अनुसार २०२४ मा मकवानपुरमा १४ वटा बाल विवाहका घटनाहरू बाल हेल्पलाइनमा दर्ता भएका छन्।
अन्तरक्रियामा अतिथि रहनुभएका ओम घलान, सन्त प्रजाले बाल विवाह न्यूनीकरणका लागि घर-परिवार र समुदायबाटै प्रयास गर्नुपर्ने बताउनुभयो।कार्यक्रममा सानुकाजी लुइटेलले,सुमित्रा थिङ तथा कृष्णलाल तामाङ, आफ्ना धारणा राख्नुभएको थियो ।








