हेटौंडा/ लामो समय बैदेशिक रोजगारीमा बिताएका एक युवाद्वारा सञ्चालित व्यवसायलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले प्रोत्साहन उद्घाटन गर्नुभएको छ।
७ वर्ष कतार र क्रोएसियामा बसेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का युवा जगदिश बिडारीले डेढ करोड रुपैयाँको लगानीमा हेटौंडामै सञ्चालन गरेको ‘जे एण्ड बि कफि’को दोस्रो शाखाको उद्घाटन नगरप्रमुख लामाले गर्नुभयो। नगरप्रमुख लामाले युवा स्वरोजगारी र स्थानीय उद्यमको प्रवर्द्धनमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीका लागि आकर्षित गरी उनीहरुको सीप र क्षमताको उपयोग गर्नुपर्छ।” लामाले स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने बिडारीलाई धन्यवाद व्यक्त गर्नु भएको छ।
उहाँले स्थानीय तहबाट पनि व्यवसाय प्रवर्द्धनका लागि सहजीकरण र सहयोग गर्ने।
योजनाबद्ध रुपमा कफी उद्योगलाई अगाडि बढाउने बिडारीको प्रतिबद्धता रहेको छ। उनले व्यवसाय प्रवर्द्धन र स्वरोजगारीका लागि नगरपालिकाबाट अपेक्षित सहयोग मिलिरहेको बताए। उक्त कफि हाउसमा हाल १७ जनालाई रोजगारी दिइएको बिडारीले बताए ।








