हेटौडा/माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ।राक्सिराङ गाउँपालिकाबाट राक्सिराङको ५ वटा विद्यालयका २८१ विद्यार्थी परीक्षामा सहभागी छन्।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार यसअघि मनहरीको परीक्षा केन्द्रहरूमा जानुपर्ने विद्यार्थीहरूले यसपटक आफ्नै गाउँपालिकामा परीक्षा दिन पाएका छन्। नियमित तर्फ २२० जना, ग्रेड वृद्धि तर्फ ३५ जना र प्राविधिक तर्फ २६ जना गरी २८१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
टाढाबाटका विद्यार्थीहरू आफन्तकोमा आश्रय लिएर बसेका छन्। गाउँपालिकाले २०३ विद्यार्थीलाई खाद्यान्न समेत उपलब्ध गराएको छ।
कालिका मावि खैराङ, कालिका मावि राक्सिराङ, राष्ट्रिय मावि सिलिङे, सुर्योदय मावि देबिटार र श्री माविका विद्यार्थीले राक्सिराङमै परीक्षा दिनेछन्। एक केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायत १२ जना कर्मचारी परिचालित छन्।
चेपाङ जातिको बाहुल्य रहेको राक्सिराङबाट १०४ जना चेपाङ विद्यार्थीले एसईई दिँदैछन्।