काठमाडौं/ स्टुडेन्ट्स ल फर्मले “साइबर सुरक्षा र सम्बन्धित अपराध” शीर्षकमा आज छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा साइबर अपराध जस्तै पहिचान चोरी, घोटाला, जालसाजी, बालपोर्नोग्राफी, गोपनीयता उल्लङ्घन, मानहानि, मोर्फिङ, नक्कली प्रोफाइल र हनीट्रयापमा पार्ने विषयमा गहनगम्भीर छलफल भएको थियो।
कार्यक्रममा स्टुडेन्ट्स ल फर्मकी सदस्य गंगा श्रेष्ठले सञ्चालन गरेकी थिइन् भने अध्यक्षता रमिला नेपालले गरेकी थिइन्। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा डा. श्रीकृष्ण भट्टराई र डा. राजीव सुब्बा उपस्थित हुनुभएको थियो। त्यसैगरी, प्यानलिस्टहरुमा आनन्दराज खनाल, प्रकाश ज्ञवाली, इन्जिनियर दिपेश जोशी र अधिवक्ता सरस्वती शाह रहनुभएको थियो।
प्यानल छलफलमा महिलाहरू साइबर अपराधका प्रमुख पीडित भएकाले उनीहरुमाथि हुने दुर्व्यवहारविरुद्ध उजुरी गर्न उत्प्रेरित गर्ने वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिइएको थियो। त्यस्तै, धेरैजसो सिमकार्ड धारकहरुले गर्ने दुरुपयोग र सामाजिक सञ्जालको दुरुपयोग विषयमा पनि सहभागीहरु उत्सुक देखिएका थिए।
साइबर सुरक्षा, साइबर अपराध र कानुनी पक्षका विभिन्न पक्षहरुमा गहन छलफल भएको उक्त कार्यक्रम प्रमुख अतिथि डा. श्रीकृष्ण भट्टराईको समापन मन्तव्यपश्चात् सफलतापूर्वक सम्पन्न भएको थियो।