लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी साधारणसभा रोक्न माग गरेको छ। युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय नटुंगिएसम्म साधारणसभा नगर्न अनुरोध गरेको हो।
महासंघ मकवानपुरले चैत २५ गतेका लागि साधारणसभा तोकेको थियो। युनियन जिल्ला अध्यक्ष सुवास विडारीले मंगलबार महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमलाई ज्ञापन पत्र बुझाउँदै महासंघले सदस्यता टुंगो नलगाई जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी अधिवेशनसम्बन्धी विषयमा सदस्य संगठन युनियन नेपालको केन्द्रीय समितिले गम्भीर असहमति जनाएको छ। युनियनको हालैको बैठकले महासंघको साधारणसभा आयोजना गर्नुअघि सदस्यता र मतदातानामावली टुंग्याउन आग्रह गरेको छ। युनियनको धारणा छ – सदस्यता नटुंगाई अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही महासंघ मकवानपुर नै हुनेछ।
युनियनले महासंघको सदस्यता शुद्धीकरण अभियान स्वागत गरेको छ, तर मकवानपुर महासंघले क्रियाशील सञ्चारकर्मीहरूलाई नै सदस्यतामा समावेश नगर्ने गरी गरेको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको छ। युनियनले सदस्यता र मतदातानामावली टुंगाएर मात्रै महासंघको जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।