हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा प्रदेश युवा परिषद बागमती र हेडभ्वा डेभलपमेन्ट एडभाजर फाउन्डेशनको संयुक्त आयोजनामा ‘थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रवर्द्धन’ विषयक ७ दिने उद्यमशीलता तथा सिप विकास तालिम शुरु भएको छ।
आज उद्घाटन गरिएको तालिमको अध्यक्षता हेडभ्वा फाउन्डेशनका अध्यक्ष अनन्त कुमार बानिया र प्रमुख आतिथ्यता युवा परिषद बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाईले गरेका थिए। उद्घाटन समारोहमा टोल विकास संस्था समन्वय समितिकी सदस्य अन्जु पण्डित, जनजागरण दुग्ध उत्पादन सहकारीका अध्यक्ष देवेन्द्र अर्याल र निर्मल बहुमुखी क्याम्पसका स्ववियु सभापति सरोज आर्याललगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि चौलागाईले हेटौंडा उपमहानगरपालिकामा सुरु भएको ‘थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रवर्द्धन’ विषयक तालिममा सहभागी नवउद्यमीहरूलाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गरेका छन्।तालिमको उद्घाटनमा उनले मेहनतसँग उद्यम सुरु गरे सफलता मिल्ने र मेहनतीहरूका लागि सधैँ उद्यमको सम्भावना रहेको बताउँदै युवाहरूलाई उद्यमशील बन्न आग्रह समेत गरेका छन्।
फाउन्डेशनका अध्यक्ष बानियाका अनुसार सात दिनसम्म चल्ने तालिममा व्यवसायिक योजना, जोखिम व्यवस्थापन, नियम कानुन, चटपटे, पानीपुरी, मोमो आदि खानेकुराको प्रशिक्षण दिइनेछ। तालिममा मनहरी, पदमपोखरी, बस्तीपुर, हाडीखोला र बसामाडीका २० जना युवाको सहभागिता रहेका छन्।