हेटौंडा/ रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित अटिजम सेन्टरलाई ट्रेम्पलिन खेल सामग्री हस्तान्तरण गरेको छ।
क्लबले मङ्गलबार सेन्टरका २४ जना बिद्यार्थीका लागि ५० हजार रुपैयाँ बराबरको विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनीकुमार पराजुलीले अटिजम जस्तो संवेदनशील क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले सामग्री हस्तान्तरणमा सहयोग गर्ने रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रन्जित श्रेष्ठप्रति कृतज्ञता व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो परिवारमा पनि अटिजमको समस्या रहेकाले केही वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको बताए। उनले यस्तो रोगबाट धेरै बालबालिका प्रभावित भइरहेकाले बालबालिकालाई सहज वातावरण दिन सबैको सहयोग जरुरी रहेको बताए।
अटिजम सेन्टरकी संचालिका उमा पौडेलले सहयोग गरे बापत रोटरी क्लबलाई धन्यवाद व्यक्त गरिन र सदैव सहयोग गर्न आग्रह समेत गरेकी छिन्।
कार्यक्रममा रोटरी क्लब अफ पशुपति काठमाडौंका निवर्तमान अध्यक्ष भुवन सिंह कुँवर, उद्योग वाणिज्य सङ्घ मकवानपुरका पूर्व अध्यक्ष जीवनकाजी मकाजु लगायतको उपस्थिति रहेको थियो।