हेटौंडा/बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायलाई अगाडि बढाउन मन्त्रालय सधैं तत्पर रहेको बताउनुभएको छ।
शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल औषधी व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो प्रदेश अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सर्वसुलभ औषधीको उपलब्धतालाई मध्यनजर गर्दै यसलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाएर आर्थिक अनुशासनको पक्षबाट व्यवसायीक क्रियाकलाप अघि बढाउन जरुरी रहेको बताउनुभयो।
मन्त्री श्रेष्ठले बागमती प्रदेशमा कुल औषधी व्यवसायीहरूलाई एकीकृत गराई उत्पादन, आयात र निर्यात गर्नेहरूलाई एक बनाउन सुझाव दिनुभयो। राष्ट्रिय पुँजी निर्माणको क्रममा महत्त्वपूर्ण पक्ष रहेको निजी क्षेत्र र सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कामले रोजगारी सृजना गर्नुका साथै राष्ट्रलाई आर्थिक रूपमा सबल बनाउन कर तिरेर राष्ट्रलाई सक्षम बनाउन औषधी व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो।
औषधी व्यवसायीहरू सरकारी पक्षको कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमन र अनुगमनमा निरन्तर बैङ्क तथा वित्तीय संस्थाहरूलाई व्यवस्थापन गर्न सके औषधी व्यवसायीहरूले आतिनुपर्ने अवस्था नआउने मन्त्री श्रेष्ठको सुझाव थियो।
औषधीको गुणस्तरमा ध्यान दिन सरकारी पक्षको मात्र हैन निजी संस्थाको पनि दायित्व भएकाले यसमा औषधी व्यवसायीले सक्रिय रूपमा लाग्नुपर्ने उहाँको विश्वास रहेको बताउनुभयो। औषधी व्यवसायलाई बलियो र समाजमा प्रतिष्ठित बनाउन बागमती प्रदेश मन्त्रालय सधैं तत्पर रहने उहाँले प्रतिवद्धता जनाउनुभयो।
मन्त्री श्रेष्ठले बागमती प्रदेशले औषधी व्यवसायीसँग मिलेर फार्मेसीसंगको दूरी कायम गर्न जरुरी भएको सुझाव दिनुभयो। सर्वसुलभ, गुणस्तरीय र मितव्ययी औषधीको उपलब्धता संस्थाको मूल उद्देश्य भएको बताउनुभयो।
केही व्यवसाय समाजमा नाफा कमाउने उद्देश्यले मात्र खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाव दिनुभयो।
अधिवेशन सफलताको शुभकामना दिँदै नयाँ नेतृत्वलाई औषधी व्यवसायीको हितको लागि काम गर्न उहाँले आग्रह गर्नुभयो।
बागमती प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष धुव्रनारायण श्रेष्ठको सभापतित्व र मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामा, महानिर्देशक नारायण प्रसाद ढकाल लगायत औषधी व्यवसायीको उपस्थिति रहेको थियो।








