हेटाैँडा/ (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई नेपालको समाजवादउन्मुख अर्थतन्त्रबाट जनतालाई सुख, समृद्धि र समानताको अधिकार प्रदान गर्ने महत्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ।
शनिबार हेटौंडामा आयोजित उक्त पार्टी मकवानपुरको ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टी सानो भए पनि विचार र सिद्धान्तमा अरुभन्दा ठूलो भएको दाबी गरे।
“पार्टीको अधिवेशनको तयारी गरिरहँदा हाम्रो पार्टीमा आश्चर्यजनक रुपमा जनसहभागिता बढेको छ। यो हाम्रो पार्टीले बोकेको विचार र सिद्धान्तका कारण भएको हो, ” नेपालले भने, “एकीकृत समाजवादीले भ्रष्टाचाररहित इमान्दार र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको छ।”
उनले राजनीति ठगी र लुटतन्त्र मच्चाउनेहरुको लागि नभएको बताउँदै केही ठग र लुटेराले राजनीति दुषित बनाएको भन्दै यसलाई सच्याउने र सुधार्ने जिम्मा एकीकृत समाजवादीको रहेको बताए। “राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन। जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेहरुलाई दण्डित गर्नुपर्छ। र एकीकृत समाजवादीमा पनि यस्तो प्रवृत्ति भए दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भने।
एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले नेतृत्वमा अहंकार पलाउँदा विधि, विधान र सिद्धान्त मेटिने बताए। “नेतृत्व अहंकारी र व्यक्तिवादी हुँदा जनताको बलिदानको बलमा ल्याइएको लोकतन्त्र र संविधान नै झण्डै धरापमा परेको छ”, नेपालको भनाइ थियो।
उनले अहिले पनि लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयतामाथि चुनौती कायमै रहेको बताए।
“व्यवस्था र संविधानका विरोधी शक्तिहरु सक्रिय भएर लागिरहेका छन्। राष्ट्रियतामाथि चुनौती आउने सम्भावना अझै छ”, उनले थपे। वर्तमान व्यवस्था र संविधान जोगाउन परिवर्तनका पक्षधर शक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।
शनिबार र आइतबार सम्म चल्ने सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। उक्त अधिवेशनमा समाजवादीका नेताहरु डा. गंगालाल तुलाधर, ललित कुमार बस्नेत, विरोध खतिवडा, मुनु सिग्देलले शुभकामना व्यक्त गरेका थिए भने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र माओवादी केन्द्रका मकवानपुर संयोजक भिम पाख्रिनले पनि शुभकामना दिएका थिए।
पार्टीले सिन्धुपाल्चोकलगायत अन्य जिल्लाहरूमा पनि संगठन निर्माणका साथै चितवनमा पनि विस्तार भइरहेको जनाएको छ भने एक पछि अर्को जिल्लाहरूमा भव्यताका साथ अधिवेशन गरिरहेको छ। प्रदेशस्तरका इन्चार्ज तथा अध्यक्ष पदमा नयाँ नेतृत्व विकास गर्न पनि विशेष ध्यान दिइएको बताइएको छ।
पार्टीको केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवा प्रतिनिधित्व गराउने र ५० प्रतिशत गर्न सके अझ बलियो बनाउन सकिने बताइएको छ। पुरानो पुस्ताले आनन्दसाथ जीवन बिताउनेगरी नयाँ पुस्तालाई नेतृत्वको भार सुम्पने उद्देश्य पनि रहेको छ। पत्रकार, पीडित तथा बलिदानी परिवारलाई सम्मान प्रदर्शनका साथै नयाँ पीढीलाई तयार गर्नेगरी समाजवादी चेतना फैलाउने लक्ष्य पार्टीको रहेको बताए।








