हेटौंडा-१९ बस्तीपुरकी गौरी सिन्तानले घर बनाउने काम गर्न थालेको करिब १४ वर्ष भइसक्यो। पछिल्लो एक दशकयता उनी हेड मिस्त्री भएकी छन्। भौतिक संरचना निर्माणको काममा पुरुष मात्रै प्राविधिक र हेड मिस्त्री हुन्छन् भन्ने मान्यतालाई चुनौती दिँदै उनले निर्माण क्षेत्रमा आफूलाई अब्बल कर्मीका रूपमा स्थापित गरेकी छन्।
सुरुमा करिब ४ वर्षसम्म गौरीले पनि अन्य महिलाझैं दैनिक ज्यालामा मजदुरी गरिन्। काम गर्दागर्दै उनले प्राविधिक सीप हासिल गरिन्। उनले पुरुष मिस्त्रीहरूसँग सिकेर बिस्तारै यो क्षेत्रमा आफ्नो बाटो बनाइन्।
गौरीका पति नवराज रोजगारीका सिलसिलामा मलेसियामा थिए। उनी फर्किँदा गौरी हेड मिस्त्रीका रूपमा काम गरेको देखेर आश्चर्य मान्नुपर्यो। अहिले गौरी र नवराज दुवैजना निर्माण क्षेत्रमा सँगै काम गर्छन्। महिनाको २७/२८ दिन उनीहरू एकसाथ काममा हुन्छन्।
घर ठेक्का लिँदा उनीहरूको मासिक आम्दानी करिब ५० हजार रुपैयाँ पुग्छ। घर ठेक्का नभए पनि दैनिक हाजिरामा काम गरेर दैनिक १ देखि १२ सय रुपैयाँसम्म आम्दानी हुन्छ। केही समयअघि उनीहरूले हेटौंडा-१९ बस्तीपुरमै आफ्नै घर बनाएका छन्। निर्माणकै काम गरेर उनीहरूले एक छोरा र दुई छोरीको पालनपोषण गर्दैछन्।
मकवानपुरका निर्माण व्यवसायी संघका अध्यक्षका अनुसार जिल्लामा महिला हेड मिस्त्रीको संख्या निकै कम छ। यस्तो अवस्थामा गौरी सिन्तानले महिला सशक्तिकरणको उदाहरण प्रस्तुत गरेकी छन्।








