हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ भालुखोलामा जनपत्र मिडिया प्रा.लि. र संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को संयुक्त आयोजनामा आगलागी, चट्याङ, बाढी, पहिरो जस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्थानीयवासीहरूले आगामी विपद्बाट जोगिनका लागि बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् । मकवानपुरगढीमा उद्योगहरूको खानीले जथाभावी उत्खनन् गरेकोले बाढी, पहिरोका घटना बढेको स्थानीयको गुनासो गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विपद् व्यवस्थापनको सवाल नै प्रमुख रहेको बताउनुभयो । त्यस्तै बन तथा वातावरणमन्त्री केशव पोखरेलले विपद्बाट जीउधनको सुरक्षा गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्यहरू भारती पाठक, लक्ष्मी श्रेष्ठ, विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मालगायतले विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाईले बिपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।








