हेटौंडा/बागमती प्रदेश युवा सम्मेलनले चालु आर्थिक वर्ष २०८१ लाई “सीप विकास वर्ष” घोषणा गरेको छ।
हेटौंडामा सम्पन्न तीन दिने युवा सम्मेलनको समापन समारोहमा १३ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेशका ५ हजार युवालाई सीप सिकाउने लक्ष्यसहित यो वर्षलाई “सीप विकास वर्ष” घोषणा गरिएको हो।
प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले घोषणापत्रमा “जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनुपर्ने” उल्लेख गर्दै युवामा लगानी बिना समृद्धि नहुने बताउनुभएको छ।
घोषणापत्रमा युवालाई दिगो र प्रभावकारी उद्यमका सम्भावना खोज्न सरकारसमक्ष आग्रह गरिएको छ। साथै युवामैत्री नीति, विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन र युवामा लगानीका लागि आवाज उठाइएको छ।
बागमती प्रदेश युवा परिषद् ऐन २०७६, युवा परिषद् नियमावली २०७७, र युवा नीति २०७९ लागू गर्दै युवाको चाहना सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ।
२८ बैशाखदेखि सुरु भएको सम्मेलनमा आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग युवाको अन्तरक्रिया, घोषणापत्र जारी र युवाको सफलताका कथा प्रस्तुत भएका थिए। त्यसअघि सम्मेलनमा शिक्षा, नीति, डिजिटल साक्षरता, नवप्रवर्तन र विदेशी सीपको लगानीलगायत विषयमा छलफल भएको थियो।
सम्मेलनमा प्रदेशका १३ जिल्लाका ९१ पालिकाबाट २०० भन्दा बढी १६-३० वर्ष उमेर समूहका युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ।







