हेटौंडामा पाँचवटा संस्थाको पहलमा विश्व धुम्रपान रहित दिवस मनाइएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल स्वयंसेवी रक्तदाता समाज, रोटरी क्लब अफ हेटौडा र भुवनेश्वर सेवा समितीको संयुक्त पहलमा सुर्तिजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने प्रतिकूल असरको बारेमा प्रवचन कार्यक्रम र निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
नेपाल चिकित्सक संघका जिल्ला अध्यक्ष डा. हरी खड्काले धुम्रपानको बारेमा र यसले मानिसमा पार्ने असरको विस्तृत जानकारी दिएका थिए। नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले सरकारले सुर्तिजन्य पदार्थमा करमा वृद्धि नगरेको बारेमा आलोचना गर्नुभयो।
यस वर्षको नारा “बालबालिकाहरूलाई सुर्तिजन्य पदार्थ उद्योगको हस्तक्षेपबाट बचाऔं” रहेको उल्लेख गर्दै खतिवडाले विद्यालय स्तरबाटै बालबालिकालाई धुम्रपानको बारेमा सचेत गर्ने कार्यक्रम गर्ने बताए।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष विजय कुमार वैद्यले विभिन्न देशहरूमा सुर्तिजन्य पदार्थको प्रयोगले महिला, पुरुष र बालबालिकालाई परेको असरको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले बालबालिकालाई सुर्तिजन्य पदार्थको असरबाट बचाउने कार्यक्रम बनाउनुपर्ने बताउनुभयो।
पाँचवटा संस्थाले संयुक्त रूपमा सुर्तिजन्य पदार्थको हानीबाट मानवलाई जोगाउने सचेतनामूलक कार्यक्रम गर्ने निष्कर्ष निकालेका छन्। विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ मा बिश्व धुम्रपान रहित दिवस मनाइएको हो।