विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौंडामा ‘प्राकृतिक वातावरणमा जनप्रतिनिधिसँग बालबालिका’ कार्यक्रम सम्पन्न भएको छ।
टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिका, सामुदायिक विकास तथा सचेतना नेपाल र एनवाईसिए हेटौंडाको सहयोग तथा समन्वयमा आयोजित यस कार्यक्रममा नगरका २, ४, ९ र १० वडाका ८४ जना बालबालिकाहरूको सहभागिता रहेको थियो।
वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूले बालबालिकाहरूलाई संस्थानको जंगल भ्रमण गराउनुका साथै वनस्पति, जलवायु परिवर्तन र यसको असरबारे जानकारी गराएका थिए।
बालबालिकाहरूलाई ६ समूहमा विभाजन गरिएको थियो र प्रत्येक समूहमा संस्थानका २ जना सहजकर्ताले सहजीकरण गरेका थिए।
आयोजक टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले यो कार्यक्रम बालबालिकाहरूलाई वातावरणबारे आवश्यक ज्ञान दिन आयोजना गरिएको बताए। भ्रमणपश्चात् नगर बाल सञ्जालकी उपाध्यक्ष कृषांगी अर्यालले यस्तो स्थलगत भ्रमणसँगै जानकारीमूलक कार्यक्रम बालबालिकाहरूलाई प्रभावकारी भएको बताइन्।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वातावरण इन्जिनियर चन्दा खड्काले जलवायु परिवर्तनबारे ज्ञानको आवश्यकता रहेको बताउनुभयो। उहाँले बालबालिकालाई यस्तो कार्यक्रमको प्रभावकारिता बढी हुने बताउँदै भविष्यको पिँढीका लागि पृथ्वी बचाइराख्नुपर्ने भएकाले जलवायु परिवर्तनको ज्ञान सबै बालबालिकालाई अपरिहार्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा नगर समन्वय समिति उपाध्यक्ष सति न्यौपाने, शान्ति श्रेष्ठ, उपमहासचिव देवकुमार श्रेष्ठ, ४ नं इन्चार्ज उर्मीला राना मगर, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, कोषाध्यक्ष सर्मीला अधिकारी, बालजागृतिका शिक्षीका निर्मला अर्याल, सन्ध्या अर्याल, सरु अधिकारी तथा एनवाईसिए प्रतिनिधि प्रतिक्षा पौडेल, निश्चल भट्ट लगायतको उपस्थिति रहेको थियो।








