हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित थानाभर्याङ र सिमलटारका करिब ३ हजार परिवारलाई खानेपानी आपूर्ति गर्न बृहत् खानेपानी आयोजना शुभारम्भ गरिएको छ
बागमती प्रदेश सरकार, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा सुरु गरिएको यस आयोजनाअन्तर्गत समवेल निर्माणको काम सकिने चरणमा पुगेको छ भने थानाभर्याङमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंकी निर्माणको काम पनि शुरु भएको छ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले आज स्थलगत निरीक्षण गरी पानी टंकी निर्माणको शिलान्यास गर्नुभएको थियो।
मन्त्री श्रेष्ठले जनतासँगको सहलगानीमा खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। उहाँले जनताको पहिलो आवश्यकता नै खानेपानी भएको उल्लेख गर्नुभयो।
आयोजनास्थल निरीक्षणका तथा शिलान्यास क्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, उपमेयर राजेश बानिया, वडाध्यक्ष जुना दाहाल खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
यसका लागि बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन हेटौंडा कार्यालयले २ करोड ५० लाख रुपैयाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १ करोड १२ लाख रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाले १ करोड रुपैयाँ लगानी गरेको छ।
उक्त योजना आगामी वर्ष वैशाखसम्म सिध्याउने प्रतिबद्धता समेत भएको छ।








