हेटौँडा – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बागमती प्रदेशको राजधानी हेटौँडालाई फराकिलो बनाउनुपर्ने बताएका छन्। उनले हेटौँडाका सडकहरू २५ मिटर चौडा हुनुपर्नेमा जोड दिएका थिए।
जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा बिहीबार बोल्दै बर्तौलाले सडक विस्तार गर्दा कसैलाई पनि आकाशमुनिको बास बनाउन नहुने बताए। साझा योजना बनाएर अगाडि बढ्दा मात्रै जिल्लाको विकास गर्न सकिने उनको भनाइ छ।
बर्तौलाले मकवानपुरको भीमफेदी सुरुङ मार्ग निर्माणको नाममा पूर्वाधार कम्पनीले जनताको पैसा लिएर फरार भएको स्मरण गराए। भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि जिल्लावासीले एकता देखाउनुपर्ने उनको भनाइ छ। उनले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए ।
हेटौँडामा बन्द रहेको रोपवेको सदुपयोग गर्नुपर्नेमा बर्तौलाले जोड दिए। मनहरी-थाहा जोड्ने रुपचन्द्र बिष्ट राजमार्ग बनाउन सबैको साझा धारणा आवश्यक रहेको उनले बताए। उनले हेटौँडालाई औद्योगिक नगरीको रूपमा विकास गर्नुपर्नेमा जोड ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले राजश्व वृद्धि र प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्ने बताए। उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्थानीय तहलाई बलियो बनाउनुपर्ने र सङ्घ तथा प्रदेशको कानुन स्पष्ट नभएकाले समस्या आएको बताइन्।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिक स्रोतको अधिक दोहन भएकोमा चिन्ता व्यक्त गरे। भावी पुस्ताको लागि प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्नेमा जोड दिँदै अधिक दोहनले बाढी-पहिरो निम्त्याएकाले सबै सचेत रहनुपर्ने बताए। हरिप्रसाद उपाध्यायले प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकसम्म ६ अर्ब २५ करोड रुपैयाँ खर्च भएको जानकारी गराए। उनले चालु खर्चतर्फ ३ अर्ब ३७ करोड र पुँजीगत खर्चतर्फ २ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको बताए।
मकवानपुर जिल्लाको विकास निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त बजेटको खर्च अवस्था उपाध्यायले त्रैमासिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेका हुन्। जिल्लाको आर्थिक गतिविधि र विकास निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त बजेटको खर्च अवस्थाबारे उनले तथ्याङ्क सहितको जानकारी गराएका छन् ।







