मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले आगामी ५ वर्षका लागि आवधिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरेको छ। ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौँडा’ मुख्य लक्ष्य राखिएको यस योजनामा विभिन्न महत्वपूर्ण योजनाहरू समावेश छन्।
कार्यक्रममा उपमहानगरपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च संरचना सार्वजनिक गरिएको थियो भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रकाशन गरिएको थियो। कार्यक्रम मीनाकुमारी लामाको अध्यक्षतामा भएको थियो।
नगरपालिकाले लगभग एक वर्षको अवधिमा यो दोस्रो आवधिक योजना तयार गरेको हो। योजना निर्माणका लागि विभिन्न समितिहरू गठन गरिएका थिए भने वडाहरूको बेसलाइन सर्वेक्षण पनि गरिएको थियो।
आवधिक योजनाअन्तर्गत नगर गौरवका योजनाहरूमा हेटौँडा कम्प्लेक्स निर्माण, हेटौँडा टर्मिनल बसपार्क निर्माण, प्रादेशिक कृषि थोक बजार व्यवस्थापन, हेटौँडा चक्रपथ निर्माण, गुम्बा डाँडा मूर्ति पार्कलाई अन्तरराष्ट्रिय मूर्ति कार्यशाला पार्कको रुपमा विकास गर्ने, कर्रा करिडोर व्यवस्थापन लगायतका योजनाहरू छन्।
योजनामा २०८५/०८६ सम्ममा मानव विकास सूचांक ०.६५०, औसत आयु ८५ वर्ष, गरिबी ५ प्रतिशत, प्रतिव्यक्ति वार्षिक आय १५०० अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ। यसका साथै कृषि, उद्योग र सेवा क्षेत्रको योगदानलाई क्रमशः ३५, १५ र ६० प्रतिशतमा पुर्याउने लक्ष्य छ।
दिगो विकास लक्ष्य स्थानीयकरण गर्ने, उद्योग प्रवर्द्धन, कृषि आधुनिकीकरण, आधारभूत सेवा विस्तार, सामाजिक विभेद अन्त्य र स्थानीय स्रोतसाधनको उपयोगमा जोड दिइएको छ।








