बागमती विश्वविद्यालयका संरक्षक समितिका सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ।
शुक्रबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश सरकारले नियुक्त गरेका सदस्यहरू प्रा.डा. चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुरानी ढुंगेल र किरण चन्द्र दाहाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलबाट मनोनयन पत्र प्रदान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका संरक्षक समेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बनाएको ऐन-नियमअनुसार काम गर्न संरक्षक समितिका सदस्यहरूलाई निर्देशन दिनुभयो। विश्वविद्यालय स्वायत्त संस्था भएकाले सरकारबाट हस्तक्षेप नहुने आश्वासन पनि दिनुभयो।
उच्च शिक्षामा परिवर्तन ल्याउने गरी विश्वविद्यालयले काम गर्नुपर्ने बताउनुहुँदै मुख्यमन्त्रीले जोड दिनुभयो।
यसैगरी आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले शिक्षाक्षेत्रका चुनौती चिर्ने दायित्व विश्वविद्यालयको रहेको बताउँदै कमाउँदै पढ्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो।
प्रदेश सरकारले हेटौँडा-८ कमानेमा विश्वविद्यालयको कार्यालय स्थापना गरिसकेको छ। कार्यक्रममा मन्त्रीहरू, सचिवलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।








