मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चेर तीनवटा पक्की पुल निर्माण गरेको छ। शनिबार लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये तीनवटा नयाँ पुलको उद्घाटन गरिएको छ।
मनहरी १ र २ जोड्ने ९७.९ मिटर लामो च्यापलखोला पुल, वडा ३ र ४ जोड्ने ६४.१५ मिटर लामो ट्वाङ्ग्रा खोला पुल र वडा ३ र ४ लाई नै जोड्ने ७४.५५ मिटर लामो मसिनेखोला पुल निर्माण सम्पन्न भएका हुन्। तीनवटै पुल निर्माणमा गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ।
बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पुलहरूको उद्घाटन गर्नुभएको हो।। पुल निर्माणपछि चारवटा वडाका बासिन्दा विशेष लाभान्वित हुने भन्दै बानियाँले खुसी व्यक्त गर्नुभयो। जनप्रतिनिधिले जनताको आवश्यकतालाई मध्येनजर गरेर काम गर्नुपर्ने उहाँको भनाइ थियो
।
बाँकी दुईवटा पुलमध्ये ठाडोखोलाको पुल करिब ८५ प्रतिशत र हाँडीखोलाको पुल ६५ प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए। पाँचवटै पुल निर्माण सम्पन्न हुँदा करिब ३३ करोड रुपैयाँ खर्च हुनेछ।
सडकअन्तर्गतका पुल र सडक स्तरोन्नति भएपछि कृषि उपजको बजारीकरण र स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो।
उद्घाटन समारोहमा पूर्वअध्यक्ष एकराज उप्रेती लगायतले पुल निर्माणबाट स्थानीय लाभान्वित हुने बताउनुभयो।कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्षहरु शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरलगायत उपस्थिति रहेको थियो।







