बाल श्रम विरुद्धको विश्व दिवसको अवसरमा जुन ८ मा मकवानपुरको मनहरी गाउँपालिकामा उपाध्यक्षसँग बालबालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मनहरी गाउँपालिका, स्वतन्त्रता अभियान, बाल कल्याण समाज मकवानपुर र ग्लोबल मार्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मनहरीका श्रमिक बालबालिका र विभिन्न बालक्लबका सदस्यहरूको सहभागिता थियो।
बालक्लब संजालकी अध्यक्ष मुना भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर प्रमुख अतिथि थिइन्। बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, बाल अधिकार समितिकी सदस्य अस्मिता कार्की, पशुपति मा.वि व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, रोजगार संयोजक प्रमोद अधिकारी लगायत बाल संरक्षणसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो।
बालबालिकाहरूले उपाध्यक्षलाई मनहरीको बाल श्रम अवस्था, बाल संरक्षण नीति, बाल श्रम मुक्त गाउँपालिका बनाउने योजना, बालबालिकाका लागि बजेट विनियोजनसम्बन्धी प्रश्नहरू राखेका थिए।
उपाध्यक्ष मगरले बाल अधिकार संरक्षण र सम्वर्द्धनको क्षेत्रमा गाउँपालिकासँग धेरै काम बाँकी रहेको स्वीकार गर्दै बाल श्रम मुक्त गाउँपालिका निर्माणका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिने बताइन्। गाउँपालिकाले बाल संरक्षण खासगरी बाल श्रम उन्मूलनका लागि नीति बनाएर काम थालिसकेको र केही उल्लेखनीय कार्यहरू पनि गरिसकेको उनको भनाइ थियो। तर आवश्यकता अनुसार गति लिन नसकेको पनि बताइन्।
उपाध्यक्ष मगरले बालबालिकाको क्षेत्रमा विशेष बजेट विनियोजन र कार्यक्रमको समेत खाका बनाइसकेको जानकारी दिइन्।








