नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं मकवानपुरका युवा नेता राजेश भेटवालले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न लागिएको आरोपमा विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्।
आइतबार एक विज्ञप्ति जारी गरी भेटवालले केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौँडा अस्पतालको अस्तित्व मेटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले बागमती प्रदेश सरकारले हेटौँडा अस्पतालको चल अचल सम्पति कब्जा गर्ने निर्णय गरेको भन्दै यसको विरोध गरेका हुन्।
हेटौँडा अस्पतालको सवालमा गलत निर्णय सच्च्याइन नगरेमा नेपाल तरुण दलले कडा आन्दोलन गर्ने चेतावनी दिँदै सम्पूर्ण तरुण साथी र मकवानपुरवासीलाई आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।
भेटवालले हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानको तहमा लैजाने यस्तो निर्णय नसच्च्याइए राज्यको सम्पति र नागरिकको अधिकारमाथि अनावश्यक हस्तक्षेप हुने बताएका छन्। उनले राज्यको सम्पति र आम नागरिकको अधिकार रक्षाका लागि आवश्यक थप कदम चाल्न तरुण दललाई बाध्य पार्नुपर्ने अवस्था आएमा पूर्ण जिम्मेवारी प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासनको हुने चेतावनी समेत दिएका छन्।








