हेटौँडा उपमहानगरपालिका-४ मा आगामी असार ३२ गते विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
वडा कार्यालय र नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल शाखाको संयुक्त आयोजनामा हुन लागेको यस स्वास्थ्य शिविरमा मुटु, ढाड, नसा र शारीरिक जाँच गरिने छ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वडाध्यक्ष नविन सिग्देलले शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको पनि प्राविधिक सहयोग रहने बताए।
शिविरमा इसिजी, इको, रगत परीक्षण, एक्स-रे, अल्ट्रासाउण्ड लगायतका सेवा उपलब्ध गराइने र १५ दिनसम्म निशुल्क औषधि वितरण पनि गरिने उनले जानकारी दिए।
नगर टोल विकास समन्वय समिति, मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, भुटनदेवी माविलगायत संस्थाको सहयोगमा हुने यस स्वास्थ्य शिविर हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा कार्यक्रम संयोजक निर्मला लामा, हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष विजय बैद्य तथा, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो।