केही दिनयता बढेको अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू बिहीबार र शुक्रबार दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
बुधबार जारी सूचनामा उपमहानगरपालिकाले गर्मीका कारण विद्यार्थीहरूलाई समस्या पर्न थालेपछि उक्त निर्णय गरिएको जनाएको छ। केही विद्यार्थी बेहोस हुने र ढल्ने जस्ता घटनाहरू देखिएपछि उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बिदा दिने निर्णय गरिएको हो।
“केही दिन यता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई अप्ठ्यारो परेको छ,” उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले भने, “त्यसैले उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यो बिदा दिइएको हो। बिदा मिलान गरिनेछ।”
गर्मीबाट बच्न बाटोमै रहेका विद्यार्थीहरूलाई समेत समस्या पर्न थालेपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको बताइएको छ। विद्यालयहरूमा गर्मीबाट बच्नका लागि पर्याप्त सुविधाहरू नभएपछि पनि बिदा दिनुपरेको हो।








