नेपाली बिद्युत् प्राधिकरणद्वारा निर्माण गरिएको ४०० केभीको हेटौँडा सब स्टेसनको उद्घाटन आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो।
यो हेटौँडा सब स्टेसन ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित प्रकारको हो र नेपालकै तेस्रो ठूलो ४०० केभी क्षमताको सब स्टेसन हो।
ढल्केबर र इनरुवापछि यसरी निर्माण गरिएको हेटौँडा सब स्टेसनसँगै अब नेपालमा करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ। यो सब स्टेसनको निर्माणसँगै नेपालमा आन्तरिक विद्युत आपूर्ति अझ सुदृढ हुनुका साथै नेपाल-भारत बिच हुने विद्युत व्यापार पनि बढ्नेछ।

हेटौँडा सब स्टेसन निर्माणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ भने नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत त्यहीँ निर्मित २२०/१३२/११ केभी क्षमताको सब स्टेसनको निर्माणमा सरकारको लगानीसँगै विश्व बैंकको सहुलियतपूर्ण ऋण पनि लगानी गरिएको थियो। यी सब स्टेसनको कुल अनुमानित लागत रु ३ अर्ब रहेको छ।







