हेटौंडा उपमहानगरपालिकाले मकवानपुरको हेटौंडा-६ मा स्थित सक्रिय महिला उद्योगलाई अनुज्ञापत्र प्रदान गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
उद्योगले चिप्स र दालमोठ उत्पादन सुरु गरेको छ। उपमहानगरपालिकाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा उत्पादन थालिएको उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले बताइन्।
उप्रेतीका अनुसार, १५ जनाले तालिम लिएकामा हाल १० जना महिलाहरू सक्रिय रूपमा काम गरिरहेका छन्। उनले प्याकेजिङ मेसिनको आवश्यकता औंल्याउँदै नगरपालिकाको थप सहयोगको अपेक्षा गरिन्।
उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेलले आगामी आर्थिक वर्षमा उद्योगलाई प्याकेजिङका लागि उपयुक्त मेसिन उपलब्ध गराइने आश्वासन दिए।
हेटौंडा-६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले महिलाहरू घरायसी कामबाट बाहिर निस्केर आर्थिक उपार्जनमा लागेकोमा खुसी व्यक्त गरे। उनले उद्योग व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
उपमहानगरपालिकाले विभिन्न वडाहरूमा तोफु, ढाका कपडा, गुन्द्रुक, काठका हस्तकला र अचार बनाउने जस्ता तालिमहरू दिँदै आएको छ।
- कार्यक्रममा वडाध्यक्ष दाहाल, उद्योग शाखा प्रमुख पौडेल, वडा सदस्य, उद्योग अध्यक्ष उप्रेती र प्रशिक्षकहरू शोभा श्रेष्ठ तथा सुचना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।