हेटौंडा – राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्र र सञ्जीवनी हेल्थ मिडियाको संयुक्त आयोजनामा पाठेघरको मुख र स्तन क्यान्सरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विशेषज्ञहरू डा. सजना सातक, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका सतिस विष्ट र स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख रामेश्वर गेलालले प्रस्तुतीकरण गरेका थिए।
उहाँहरुले बागमती प्रदेश सरकारले चालेका प्रमुख कदम र कामका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।
स्तन पाठेघरको क्यान्सर रोगको पहिचान गर्न बागमती प्रदेश सरकारले अस्पताल, वडा र विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरि ‘स्क्रिनिङ’ विधिबाट निःशुल्क जाचँ गरिरहेको छ ।
डाक्टर सजनाका अनुसार क्यान्सर रोग समयमै चेकजाँच गराउन गए सजिलै पत्ता लाग्ने रोग हो । यौन सम्पर्कमा रहेका हरेक महिलाहरुले पाठेघर सम्बन्धि जाँच गराएमा रोग पत्ता लगाई समयमै रोमथाम गर्न सकिन्छ।
‘पाठेघरको क्यान्सरको लक्षण अन्तिम अवस्थामा पुगेपछि मात्र देखिन्छ । योनिबाट गन्हाउने पानी बग्ने, महिनावारी बाहेक पनि योनिबाट रक्तस्राव हुने, यौन सम्पर्कको समयमा असहज हुने, कम्मर दुख्ने यसका प्रमुख लक्षणहरु हुन’ उनले बताईन् ।
सन् २०२२ को तथ्याकंलाई हेर्दा नेपालमा सबैभन्दा पहिले फोक्सोको क्यान्सर, दोस्रोमा स्तन र तेस्रोमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।
सरकारको अध्ययन अनुसार नेपालमा प्रत्येक बर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका बिरामीहरु थपिने गरेका छन्। पाठेघरको मुखको क्यान्सर ह्यूमन प्यापिलोमा भाईरस संक्रमणको कारणले हुन्छ र त्यो संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब १०-२० वर्ष लाग्दछ ।
पाठेघरको मुखको क्यान्सरलाई हदैसम्म न्युनीकरण गर्ने उदेश्यले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको छ । जसमा चौध देखि पन्ध्र वर्ष उमेरका किशोरीहरूलाई सातै प्रदेशमा एचपीभी खोप दिइएको छ ।
प्रजनन उमेरका महिलालाई क्यान्सर भइसकेको भए तापनि पहिलो चरणमा नै पत्ता लगाउन सकियो भने क्यान्सरको पूरा उपचार गर्न सकिन्छ।
यी सबै कुरालाई मध्यनजर गरी धेरै प्रकारका स्क्रिनिङलगायत उपचारका पद्धतिहरु नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुमा चलिरहेका छन्। ३० वर्षको उमेर कटिसकेपछि एच.पी. भि , डि.एन.ए निःशुल्क परिक्षण मार्फत पनि यस रोगको पहिचान समयमै गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा वार्षिक ३,००० भन्दा बढी नयाँ पाठेघरको मुख क्यान्सरका बिरामी फेला पर्छन् र यसबाट वार्षिक करिब १,८०० जनाको मृत्यु हुन्छ।
कार्यक्रमले महिलाहरूमा क्यान्सरबारे जागरुकता बढाउने र समयमै परीक्षण गराउने महत्त्वमा जोड दिएको छ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूसँग यी क्यान्सरहरूको वर्तमान अवस्था, सरकारी नीति र नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरिएको छ।








