बालजागृति अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार हेटौंडामा एकदिने स्क्राबल अभिमुखीकरण कार्यक्रम हुने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे विस्तृत जानकारी दिइएको छ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले कार्यक्रमको उद्घाटन गर्ने बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिएका छन्।
उक्त कार्यशालामा हेटौंडा, मनहरी, हात्तिसुँडे, बकैया लगायतका क्षेत्रका करिब ५० वटा सामुदायिक र संस्थागत विद्यालयका २५० जना विद्यार्थी र शिक्षकहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले बताएका छन्।
विद्यालयका प्रिन्सिपल सुवेदीले स्क्राबल खेललाई सबै विद्यालयमा लोकप्रिय बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। उनले स्क्राबलले विद्यार्थीहरूको शाब्दिक ज्ञान, समस्या समाधान क्षमता र व्यवस्थापन कौशल विकास गर्न मद्दत गर्ने उल्लेख गरे।
उल्लेखनीय छ, यसै विद्यालयका विद्यार्थी प्रसिद्ध तिमल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
पत्रकार सम्मेलनमा विद्यालय सञ्चालन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारी, स्क्राबल क्लब मकवानपुरका संयोजक विवश जंग थापा, र स्क्राबल क्लब केन्द्रीय समितिका भोजराज सुवेदी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा भोलि (शनिबार) बिहान ११ बजेदेखि सुरु हुनेछ।








