राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईई परीक्षाको नतिजामा मकवानपुरका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
सामुदायिक विद्यालयतर्फ, हेटौंडा उपमहानगरपालिका १६ स्थित श्री जनप्रिय माध्यामिक विद्यालय तथा प्राविधिक शिक्षालयका असल पाख्रिनले ३.९ जीपीए हासिल गरी उच्चतम अंक प्राप्त गरेका छन्। जिल्ला विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार पाख्रिनको यो अंक सामुदायिक विद्यालयतर्फ सर्वोच्च रहेको छ।

निजी विद्यालयतर्फ, हेटौंडा उपमहानगरपालिका-२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कुलकी छात्रा रितिका छत्कुलीले ४.० जीपीए हासिल गरेकी छन्। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार छत्कुली जिल्लाका ५,७५२ परीक्षार्थीमध्ये एकमात्र ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी बनेकी छन्।
यस वर्षको एसईई नतिजाले मकवानपुरमा शैक्षिक गुणस्तर उच्च रहेको पाइएको छ, जसमा सामुदायिक र निजी दुवै क्षेत्रका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।








