नेपाली भाषा शिक्षक समिति नगर कार्यसमितिले हेटौंडाका निजी तथा सामुदायिक विद्यालयका नेपाली शिक्षकहरूका लागि व्याकरण र विधागत शिक्षण विधिसम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

शुक्रबार हेटौंडा–४ स्थित नवोदय शिशु सदनमा आयोजित कार्यशालामा नेपाली व्याकरणका जटिल पक्षहरू र भाषा शुद्धीकरणबारे छलफल गरिएको थियो । साथै, कथा, कविता, निबन्ध लगायतका विधागत शिक्षण प्रक्रियाबारे पनि जानकारी दिइएको थियो ।
कार्यक्रममा ध्रुव भुजेलले व्याकरणसम्बन्धी र केशव सञ्जेलले विधागत शिक्षणसम्बन्धी सत्र सञ्चालन गरेका थिए । नगरभित्रका ४५ विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता रहेको समितिका सचिव सिएम रिमालले जानकारी दिए ।
समितिका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यशालाले नेपाली भाषा शिक्षणलाई थप प्रभावकारी बनाउने र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । यसबाट विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
सचिव रिमालका अनुसार समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरी नेपाली भाषा शिक्षणको गुणस्तर सुधार्ने प्रयास जारी रहने बताएका छन्।








