बाल जागृति इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार स्क्र्याबल खेलसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो। मन्त्री मोक्तानले स्क्र्याबल खेलले विद्यार्थीहरूको क्षमता अभिवृद्धि र चेतना विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उनले यस खेलप्रति जनचासो बढाउन र निरन्तरता दिन राज्यको लगानी आवश्यक रहेको औंल्याइन्। साथै, हामी सरकारले पनि यस्ता किसिमका खेलहरूमा चासो दिनुपर्ने र आगामी कार्यक्रमहरूमा नयाँ बौद्धिक किसिमका खेलहरूलाई प्राथमिकतामा राख्ने पनि बताएकी छन्।
कार्यक्रममा मकवानपुरका करिब ५५ विद्यालयका २०० जना विद्यार्थी सहभागी थिए। कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई स्क्र्याबल क्लबका प्राविधिक प्रशिक्षकहरूले खेलका नियम र शब्द बनाउने तरिकाबारे प्रशिक्षण दिइएको हो ।
त्यस्तै यस अवसरमा बाल जागृति बोर्डिङकी विद्यार्थी रितिका छतकुलीलाई एसईईमा ४ जीपीए ल्याएकोमा सम्मान गरिएको छ। विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले छतकुलीलाई प्रोत्सान स्वरूप २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीले गरेका थिए। विद्यालयले विद्यार्थीहरूको बौद्धिक क्षमता विकास र बाह्य ज्ञान अभिवृद्धिका लागि यो कार्यक्रम आयोजना गरेको जनाएको आयोजकले बताएका छन्। 
कार्यक्रमको समापनमा भने हेटौंडा उपमाहानगरपालिकाका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्यमा भएको थियो।








