हेटौंडा । हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका कुल १०७ परीक्षार्थीमध्ये ८१ जना उत्तीर्ण भई ७५.७० प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ।
विद्यालयका शिक्षक सुदिप पौड्यालका अनुसार ७ जना विद्यार्थीले ३.६ जीपीए भन्दा माथि, १८ जनाले ३.२ देखि ३.६ जीपीए, २९ जनाले २.८१ देखि ३.२ जीपीए र २७ जनाले २.४१ देखि २.८ जीपीए प्राप्त गरेका छन्। २६ जना अनुत्तीर्ण विद्यार्थीमध्ये १६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने अवसर पाउनेछन्।
प्रगति माविले यस नतिजासँगै मकवानपुर जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट उत्तीर्ण दर हासिल गरेको दाबी गरेको छ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रदिप पराजुलीले यो सफलता शिक्षक, अभिभावक र विद्यार्थीहरूको कडा परिश्रमको परिणाम भएको बताए। उनले सबै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै खुसी व्यक्त गरे।
यस नतिजाले प्रगति माविले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको एक उदाहरण प्रस्तुत गरेको देखिन्छ।









