हेटौंडा/आज बुधबार बाल जागृति सेकेन्डरी विद्यालयले कक्षा २ का विद्यार्थीहरूका अभिभावकसँग शैक्षिक योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ।
हेटौंडा-२ स्थित कालिका पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०८० का उपलब्धि र नयाँ शैक्षिक सत्र २०८१ का योजनाहरू प्रस्तुत गरेको थियो।
कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। दुई चरणमा सञ्चालित कार्यशालामा अभिभावकहरूबाट सुझाव संकलन गरिनुका साथै विद्यालयका कार्यक्रमहरूबारे पृष्ठपोषण लिइएको थियो।
प्रतिकूल मौसम र समयका बाबजुद अभिभावकहरूको बाक्लो उपस्थितिप्रति विद्यालयले आभार व्यक्त गरेको छ। साथै, कार्यक्रमको सफलताका लागि शिक्षक तथा कर्मचारीहरूको योगदानको पनि प्रशंसा गरिएको छ।
यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ गर्नुका साथै आगामी शैक्षिक योजनाहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले बताएका छन्








