हेटौंडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बालबालिकाको विषयमा बोल्दा तथ्यमा आधारित हुनुपर्ने बताएकी छिन्। बुधबार एक कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले बालश्रम, बालमैत्री स्थानीय शासन र बालबालिका सम्बन्धी ऐनका बारेमा अध्ययन गरेर मात्र बोल्न सुझाव दिइन्।
कार्यक्रममा बाल कल्याण समाज मकवानपुरद्वारा प्रकाशित “बाल अधिकारको संरक्षण तथा सम्बर्धन स्रोत सामग्रीको संगालो २०८१” को विमोचन गरिएको थियो। मन्त्री मोक्तानले यो पुस्तक सबै पालिका, गैरसरकारी संस्था, सरकारी कार्यालय र राजनीतिक दलका अगुवाहरूलाई उपलब्ध गराउनुपर्ने बताइन्।
समाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले यो पुस्तक बालबालिकाको विषयमा काम गर्नेहरूका लागि अवधारणागत स्पष्टता ल्याउन उपयोगी हुने बताए।
बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले बागमती प्रदेशका ११९ पालिकामा बाल अधिकारबारे स्पष्टता ल्याउन र स्थानीय सरकारलाई बालमैत्री बनाउन यो पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे।
कार्यक्रमा मन्त्रालयका शिक्षा महाशाखा प्रमुख खुबीराम अधिकारी, समाजिक महाशाखा प्रमुख अमृत अधिकारी, महिला बिकाश अधिकृत चन्द्र ब्यन्जनकार, शाखा अधिकृत द्धय लक्ष्मण पुडाशैनी, चन्द्र श्रेष्ठ , संचारकर्मी आशिष दुलाल लगायतको उपस्थिती रहेको थियो ।