हेटौंडा अस्पतालले आज (शुक्रबार)देखि ‘औषधि दानपत्र’ कार्यक्रम संचालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत इच्छुक व्यक्तिहरूले आफूसँग भएको वा किनेर ल्याएको औषधि दान गर्न सक्नेछन् ।
अस्पतालका अनुसार, विशेषगरी अस्पतालबाट डिस्चार्ज हुँदा बाँकी रहेका औषधिहरू दान गर्न सकिनेछ । बिमा गरेका बिरामीहरूबाट बचेका औषधिहरू, जुन काउण्टरमा फिर्ता गर्न मिल्दैन, त्यस्ता औषधिहरू दान गर्न अस्पतालले विशेष आग्रह गरेको छ ।
अस्पतालका मेसु श्रीधर अर्यालका अनुसार, “बिमा अन्तर्गत १० रुपैयाँको औषधि दान गर्दा, त्यसले अर्को गरिब बिरामीलाई १०० रुपैयाँ बराबरको फाइदा पुर्याउन सक्छ ।”
संकलित सबै औषधिहरू आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारमा प्रयोग गरिने अस्पतालले जनाएको छ । यस पहलले गरिब तथा आर्थिक रूपमा कमजोर बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालले सबै नागरिकहरूलाई यस मानवीय कार्यमा सहभागी हुन आह्वान गरेको छ ।