हेटौंडा/ निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मकवानपुरले एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा जिल्लाका ३६ विद्यालयका २५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ । यी विद्यार्थीहरूले एसइई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए ।
कार्यक्रममा बालजागृति इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुलीलाई विशेष सम्मान गरिएको छ । छत्कुलीले गत वर्षको एसइई परीक्षामा ४ जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी थिइन् ।
त्यसैगरी, छात्रतर्फ ४.९५ जीपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गर्ने थाहा नगरपालिकाको सरस्वती विधा मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलका हरि चन्द्र मुखियालाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले देशभर एसइईको नतिजा कमजोर रहेको अवस्थामा मकवानपुरमा भने सन्तोषजनक नतिजा आएको बताए । उनले विद्यार्थीहरूलाई क्याम्पस छनौट गर्दा आफ्नो योग्यता र रुचि अनुसार रोज्न सुझाव दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले स्थानीय सरकारले शिक्षा सुधार योजनासहितका नीति कार्यक्रम लिएर अघि बढिरहेको जानकारी दिइन् । उनले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरूको योगदानको पनि प्रशंसा गरिन् ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्डका कृष्णप्रसाद घिमिरे लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लाबाट गत वर्षको एसइई परीक्षामा ५,७५२ जना विद्यार्थी सहभागी भएकोमा २,०९८ जना मात्र उत्तीर्ण भएका थिए । जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २५८ जना रहेका छन् भने ३.२ देखि ३.६ हासिल गर्ने ५९२ जना छन् ।








